Wednesday, January 23, 2019

स्रष्टा भनेको अराजक समूह होः एक अन्तर्वार्ता

नेपाली मुक्तकका विविध आयामबारे नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेसँग
लिइएको अन्तर्वार्ता
प्रस्तुतकर्ता ः मुक्ति भण्डारी

१. साहित्यका अन्य विधाहरूबाट मुक्तक अलग विधा हो भन्ने आधार के छ ?
सबैभन्दा पहिले मुक्तकलाई यसको परिभाषाबाटै बुझ्न सकिन्छ । मुक्तक संस्कृत भाषाबाट आएको शब्द हो । ‘मुक्त’ शव्दमा ‘कन’ प्रत्यय लागेर मुक्तकको व्युत्पत्ति हुन्छ । जसको अर्थ हुन्छ स्वतन्त्र । आफैमा पूर्ण । हामीले एउटा अभियान चारपंक्तीय मुक्तक लेखनको चलाएका छौं । अस्ति पोखरामा सम्पन्न मुक्तक महोत्सवमा पनि यो विषयमा चर्चा भयो । केही असहमति त छँदै छन्, तर मुक्तकको मानक रूप चार पंक्तिलाई मान्ने विषयमा धेरैको सहमति छ । चारपंक्ति आफैमा पूर्ण हुने भएकाले मुक्तक चोटिलो, पोटिलो, रसिलो र आफैमा परिपूर्ण हुन्छ । यो नै मुक्तकको पहिचान हो ।

२. तपाईँले  चार पंक्तिमा लेखिने मुक्तकलाई नै मानक मान्नु पर्ने कुरा राख्नु भयो, अधिकांश पुराना स्रष्टा र केही समकालीन स्रष्टाहरूले समेत चारभन्दा बढी पंक्तिका मुक्तक लेख्नुहुन्छ नि ! 
उहाँहरूसँग पनि हाम्रो विरोध होइन, किनकि उहाँहरूले पनि मुक्तकको नाममा भाषाकै सेवा गर्नु भा’छ । कतिपयले त गद्यमा समेत लेख्नुभा’छ । उहाँहरूको योगदानलाई हामीले कम आँक्नु हुँदैन । तर, प्रश्न कहाँनिर उठ्छ भने मुक्तक चिन्ने कसरी त ? २ देखि ७ लाइनलाई मुक्तक भनेपछि कहिलेकाहीँ म भन्ने गर्छु कविता बिग्रियो भने मुक्तक त्यसो भए ? हाइकु १७ अक्षरले चिनियो, पूर्वीय साहित्यमा दुई पदीयलाई दोहा भनिन्छ, त्यसैगरी सबैको आआफ्नै नाम छ भने मुक्तको एउटा पहिचान किन नहुने ? मुक्तकको स्वरूप नै बेरूप भएकोले यसलाई एउटा फ्रेममा ढालेको हो ।

३. नेपाली साहित्यमा मुक्तक कहिलेदेखि भित्रियो ?
नेपाली साहित्यको प्राथमिक कालमा नै मुक्तक भेटिन्छ । शक्तिबल्लभ अर्यालको ‘तनहुँ  भकुण्डो’ स्पष्ट नेपाली मुक्तक हो । त्यो चार पंक्तिमा छ, चार पंक्तिमा तीनवटा जिल्लाको कुरा उल्लेख गरिएको छ यद्यपी मुक्तक नामकरण गरिएको छैन । यसैलाई पहिलो चतुष्पदीय मुक्तक मान्न सकिन्छ । त्यसपछि भानुभक्तले ‘गजाधर सोतीकी...’ भन्ने चतुष्पदीय लेखेको पाइन्छ । त्यसपछि मोतीरामले काम गरे । खासमा प्राथमिक र माध्यमिक कालमा मुक्तक नाम दिइएन । आधुनिक कालमा आएपछि भीमदर्शन रोकाले ‘घाम डुबेर तारा नउदाइसकेको आकाश हुुँ म’ भन्ने मुक्तक लेखे । भीमदर्शन रोकालाई नेपाली मुक्तकमा चतुष्पदीय मुक्तक लेखनका प्रारम्भकर्ता भन्न सकिन्छ । उनले मुक्तक नभने पनि चतुष्पदीय शैली भित्र्याए । त्यसपछि  टेकबहादुर नवीनले मुक्तकका दुईवटा किताबहरु लेखे २०१६ सालमा । तर उनले पनि मुक्तक भन्न सकेनन् । मुक्तक नै भनेर २०२० सालमा कृष्णप्रसाद पराजुलीले लेखे । तर यसमा दुईजनाको दाबी छ । चेतन कार्कीले मेरो ‘मुक्तक मेला’को भूमिकामा ‘सायद पहिलो मुक्तक मेरो थियो कि’ भन्नुभा’छ  । त्यतिबेला उहाँले देहरादूनमा पढ्नुहुन्थ्यो उहाँले ‘त्यो प्रति मसँग नहँुदा क्लेम गर्न सकिन’ भन्नुभा’छ । त्यसैगरी कृष्णप्रसाद पराजुलीले ‘मुक्तक शब्द नै प्रयोग गर्ने पहिलो व्यक्ति म नै रहेँछु’ भन्नुभा’छ । 

४. मुक्तकका अरु कुनै प्रकारलाई पनि मानक मान्न सकिन्थ्यो तर रुवाइलाई नै मान्नुको कारण के हो ?
रुवाइ शैलीलाई रुचायो मान्छेले । यसको एउटा मजा के छ भने तेस्रो पंक्तिमा अनुप्रास मिलाउनु नपर्दा भावलाई बेजोड बनाउन सकिन्छ । तुकान्त बनाउन खोज्दा भाव कमजोर बन्न सक्छ । यसमा सुरुकोे उठान पंक्ति र दोस्रोमा विकास पंक्ति हन्छ । त्यस्तै तेस्रोले ताक्ने काम गर्छ भने चौथोले हान्ने काम गर्छ । खुत्रुक्कै पार्छ । हामीले पूर्वीय मान्यतालाई विरोध गर्न खोजेको होइन त्यहाँ छोटा वा लघु कविता जतिलाई मुक्तक भनेको छ । हामीले मानक चाहिँ चतुष्पदि बनाएका हौं जसमा पूर्वीय मुक्तक र रुवाइ दुबै समेटिन्छ ।

५. कुनै देशले संविधान बनाएर जनतालाई सोहीअनुसार चल्ल आदेश दिएझैं साहित्यमा पनि कुनै संस्था वा समूहले निर्धारण गरेको मानको आधारमा सबै चल्नुपर्छ भन्ने छ र ?
वास्तवमा स्रष्टा भनेको अराजक समूह हो । उनीहरूले सधैं सिद्धान्तमा टेकेर लेख्छन् वा लेख्नुपर्छ भन्ने केही छैन । हामीसँग कुनै हत्कडी छैन, हामीले त मुक्तकको पहिचानको लागि चतुष्पदीयलाई मानक मानेर अगाडि बढौं भन्ने प्रस्ताव गरेका हौं । तर, पछिल्लो समयमा अधिकांश स्रष्टाहरूले यो कुरालाई स्वीकार गर्नुभा’छ ।

६.पछिल्लो समयमा नेपालमा मुक्तक लेखनको अवस्था कस्तो छ ?
म सबैभन्दा पहिले मुक्तकको महत्वबारे बताउँछु  । नेपालमा २०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, २०६२÷६३ को आन्दोलन सबैमा मुक्तकले स्थान पाएको छ । किनकि यी सबै आन्दोलनमा आआफ्नो कार्यक्रम सुरु गर्नुभन्दा पहिले मुक्तक सुनाउँथे । यसको सबैभन्दा सटिक पाटो चार पंक्तीय हुनु हो । यसका साथै सामाजिक सञ्जालमा सबैभन्दा आड पाएको र फैलिएको विधा मुक्तक हो । यसलाई अङ्ग्रेजी भन्छ नि ‘आइ.टी. फ्रेण्डली’ भनुम न । सामाजिक सञ्जालमैत्री । अहिले त अनुकूल मुक्तकको छ ।

७. यही आधारमा मुक्तकले भविष्यमा समृद्ध विधाको रूपमा आफूलाई चिनाउन सक्ला भन्न सकिन्छ ? 
कुरो के छ भने मुक्तक विधा हो कि उपविधा भन्ने विषयमा नै विवाद छ । अहिलेसम्म यसलाई कविताको उपविधा मानिएको छ तर हामी मुक्तकले पनि अलग मान्यता पाउनुपर्छ  भन्ने मान्यता राख्छौं तर त्योभन्दा अगाडि गर्नुपर्ने काम धेरै छन् । मुख्य कुरा त मुक्तकलाई कसैले बनाइदिने भन्दा पनि उत्कृष्ट मुक्तकहरू लेखिँदै गएपछि स्वतः यसले आफ्नो स्थान पाउँछ । म त नेपाली मुक्तको भविष्य सुन्दर देख्छु ।

८. सर नेपाल मुक्तक प्रष्ठिानको अध्यक्ष पनि हुनुहुन्छ, यो संस्था खासमा त तपाईँहरूले मुक्तकको उत्थानकै लागि स्थापना गर्नुभा’को होला, यसका अन्य उद्देश्य पनि छन् कि ? संस्थाको स्थापनादेखि हालसम्मका गतिविधिबारे बताइदिनु न ।
यो एउटा संजोक हो । मेरा दुईवटा मुक्तक संग्रह आइसकेपछि रेडियो नेपालका रमेश पौड्याल भाइले काठमाडौंमा एउटा मुक्तकको क्षेत्रमा काम गर्ने संस्था गठन गरौं भन्ने आग्रह गरे र पछि छलफल गरेर अगाडि बढियो २०७० सालमा । हाम्रो मूल उद्देश्य मुक्तकको उत्थान र उन्नयन गर्नु हो तापनि हामीले देश दुखेको बेलामा स्रष्टाहरू पनि चुप लाएर बस्नुहुन्न भनेर विभिन्न कामहरू गरेका छौं । समाजमा जुन धारणा छ ‘लेखकहरू आस मात्र गर्छन्, माग्न सक्छन्, दिन सक्दैनन् ।’ यसैलाई चिर्दै स्रष्टाहरुले पनि समाजलाई दिन सक्छन्  भन्ने देखाउन हामीले काम गरेका छौं । असारमा बाढी आउँदा हामीले टिकटमा मुक्तक कार्यक्रम गरेर बाढी पीडितलाई सहयोग ग¥र्यौं । २०७२ सालमा भूकम्पपीडितहरूलाई साढे तीनलाख रुपियाँको राहत सामग्री वितरण ग¥यौं । २०७३ मा सिन्धुपाल्चोकको बाढीमा सहयोग ग¥यौं । सिन्धुपाल्चोकको वनसाँघु मा.वि. मा चार लाख रुपियाँको अक्षय कोश स्थापना गरेका छौं । त्यसमा हामीलाई मलेसिया र इजरायल शाखाले सहयोग गरेको छ । आगामी दिनमा पनि देशमा नराम्रो घटना त नघटोस्, तर दुःख पर्दा हामीले सिर्जनाबाटै सहयोग गर्ने छौं । हामीले वर्षमा चारवटा कार्यक्रमहरू गर्ने अठोट गरेका छौं । यी  शाखा—प्रशाखाहरू खोलिनुमा सामाजिक सञ्जालको  सबैभन्दा महत्वपूर्ण भूमिका छ । उनीहरूले सम्पूर्ण काम  आफै गर्छन्, हामीले अनुमोदन गर्छौं । अहिले हाम्रा तीन देशमा शाखाहरू सक्रिय छन् । मलेसिया शाखाले एउटा, इजरायलले दुइटा र यु.के. शाखाले एउटा कृति प्रकाशन गरिसके । अन्य देशमा पनि छन् तर यतिबेला यी तीन देशमा रहेका शाखाहरू सक्रिय छन् ।

९. काठमाडौंमा पछिल्लो समयमा तपाईँहरूको गतिविधि अलिक कम देखिन्छ नि, के गर्दै छ नेपाल मुक्तक प्रष्ठिानले ?
त्यस्तो कम भएको त होइन । हामीले नियमित कार्यक्रमहरू गरिराखेकै छौं । सबै साथीहरूको आ—आफ्नै व्यस्तताले  भनेजति काम गर्न सकेका छैनौं । यो पालि चाहिँ १०१ जना मुक्तककारहरूको संयुक्त सङ्ग्रह निकाल्दै छौं । हाम्रा शाखाहरूले पनि आ—आफ्नै ढङ्गले कार्यक्रम गरिरहेकै छन् ।

 १०. अब मुक्तक भित्रका कुरा गरौं । धेरै मानिसहरू गजल र मुक्तकको संरचनामै झुक्किएको देखिन्छ । गजलका सुरुका दुई शेर र चतुष्पदी मुक्तकमा के फरक छ ?
तपाईँले भनेको कुरा ठीक हो । धेरै मान्छेहरू गजल र मुक्तकमा झुक्किन्छन् । सामाजिक सञ्जालमा कतिपयले मेरो मुक्तकमा ‘हाउ नाइस गजल’ भनेर कमेन्ट गरेका हुन्छन् । त्यसका पछाडि गजलको लोकप्रियता र संरचनात्मक रूपमा देखिने समानता नै हो । लेख्नेहरू स्पष्ट छन् तापनि पाठकहरू तपाईँले भनेझैं अलमलमा देखिन्छन् । तर, गजल र मुक्तक बीच आनका तान फरक छ । मुक्तक चार पंक्तिमा पूर्ण हुन्छ । सुरुको पंक्तिले उठाएको विषयलाई चौथोले पुष्टि गर्छ तर गजलमा त्यस्तो हुँदैन । गजलमा त प्रत्येक शेरले अलग अलग विषय पनि उठाउन सक्छन् । गहिरिएर हे¥यो भने जो कोहीले पनि यी दुईका बीचको भिन्नता सजिलै थाहा पाउँछ । मुक्तकमा चारै पंक्तिमा अनुप्रास मिलाउन पनि सकिन्छ । उदाहरणको लागि चेतन कार्की दाइको मुक्तकलाई लिन सकिन्छ—
रूप होस्, अभिमान नहोस्, सम्भव नै छैन
बैंस होस्, गुमान नहोस् सम्भव नै छैन ।
क्रान्ति होस्, वलिदान नहोस् सम्भव नै छैन
नेता होस् वेइमान नहोस् सम्भव नै छैन ।

११. नेपाली समालोचकहरूका नजरमा मुक्तक किन पर्न नसकेको होला ?
त्यसमा एउटा त हेर्ने दृष्टिकोण नै हो । मुक्तकलाई टुक्रे कविता भनेर हेर्ने चलन छ । म त त्यसलाई दृष्टिदोष भन्छु । एउटा महाकाव्यले दिने सार एउटा मुक्तकमा अटाउन सकिन्छ । कुनै पनि विधा आफैमा ठूलो र सानो भन्ने हुँदैन । त्यस बिधामा लाग्ने स्रष्टाहरूले कत्तिको स्तरीय काम गरे भन्नेमा भर पर्छ । एक त परम्परागत सोंच हो दोस्रो त्यो स्तरको मुक्तक लेखिएकै छैन । सुन्दर मुक्तकहरू लेखिँदै गएपछि समालोचकहरू पनि यतातिर आकर्षित होलान् । अहिले त नेपाली समालोचना आख्यान विधामै केन्द्रित छ । मुक्तक मात्र होइन कविता, गजल लगायतका अन्य विधाहरू पनि समालोचकका आँखामा परेको देखिन्न । तर, पत्र—पत्रिका, सामाजिक सञ्जाल तथा विभिन्न साहित्यिक गोष्ठीहरूमा मुक्तकबारे चर्चा परिचर्चा भइरहेकै छन् ।

१२. समकालीन मुक्तक लेखनका प्रवृत्तिहरू के कस्ता छन् ?
नेपाली मुक्तक लेखनमा वर्तमान सन्दर्भमा समाजका विविध क्षेत्रका विसङ्गति विकृति नै हो पहिलो विषय बनेर आएको छ भने दोस्रोमा प्रेम । प्रेमका दुईतीनवटा आयाममा फैलिएर कलम चलाइएको पाइन्छ । जस्तो कि व्यक्ति—व्यक्ति बीचको प्रेम, राष्ट्रप्रेम, प्रकृतिप्रेम आदि । शैलीको कुरा गर्नुपर्दा चतुष्पदीलाई नै अधिकांश स्रष्टाहरूले पछ्याएको देखिन्छ ।


१३. कतिपय स्रष्टाहरूले मुक्तकमा शीर्षक राखेको देखिन्छ भने कतिपयले शीर्षक नराखी मुक्तकहरू प्रकाशन गर्नुभा’छ । यस विषयमा तपाईँ के भन्नुहुन्छ ?
राख्नुपर्छ भन्ने छैन । तर, राख्नेहरूलाई हाम्रो विरोध पनि छैन । तर, विस्तारै शीर्षक बिना नै मुक्तक प्रकाशन गर्ने ट्रेण्ड चल्दैछ ।

१४. अन्त्यमा तपाईँको आफूलाई मनपर्ने मुक्तक सुनौं न ।
मैले यो मुक्तक धेरै ठाउँमा सुनाएको छु । अहिले यही सुनौं है त ।
अनौठो खबर पत्रिकामा पढ्न पाए कसो होला ?
दुःखद् एउटा उदाहरण देख्न पाए कसो होला ?
असफल प्रेमीहरू झैं देश बिग्रेको झोंकमा
आत्महत्या ग¥यो रे नेताले सुन्न पाए कसो होला ?
धन्यवाद !

‘नुन-तेल’मा जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दा

  देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ – आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका...