![]() |
देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ–आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका लागि यो सञ्जालबाट टाढा बस्न मन लागेर लामो समयदेखि झोलामा बोकेर हिँडेको तर पढ्ने मौका नमिलेको पुस्तक खोलेँ । २०८० सालको मदन पुरस्कारका लागि उत्कृष्ट पुस्तकको सूचीमा परेको यो पुस्तकमा लेखकले कुस्मादेखि बुटवलसम्मको ५ दिनको यात्रा वर्णन गरेका छन् । मूल रूपमा जलवायु परिवर्तन र यसका असरहरूबारे लेखिएको यो पुस्तकमा लेखकले आफ्ना पुर्खाहरूले नुन तेल किन्न बटौली (बुटवल) जाने पदमार्गलाई पछ्याउँदै विगततर्फको यात्रा गरेका छन् ।
मैले यो पुस्तक सुन्दर प्रकृतिको काखमा बसेर पढेँ । अगाडिपट्टि हिउँले ढाकिएका सेता पहाडहरू, तल खलङ्गा बजार, वरिपरि वसन्त पर्खिरहेका स्याउका बगैँचा र सुसाइरहने सल्लाका बोटहरू । म यो चिसो मौसममा बसेर पुस्तक पढिरहँदा देश चुनावको रापले तात्तिएको छ । यो हप्ता अधिकांश राजनीतिक दलहरूका चुनावी घोषणापत्र सार्वजनिक भइरहेका छन् । तर कसैले पनि आफ्ना चुनावी घोषणापत्रमा जलवायु परिवर्तन र यसका असर न्यूनीकरण तथा दिगो विकासलाई प्राथमिकतामा राखेको देखिएन । थाहा छैन अबको १०/२० वर्षपछि हिमाली जिल्लाहरू यसरी हिउँले ढाकिन्छन् कि नाईँ ? स्थानीयवासीहरूका अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष हिउँ पर्ने क्रम घटिरहेको छ । यहाँ आएपछि थाहा भो हिमाली जिल्लाहरूमा हिउँ पर्नु भनेको ठूलै उत्सव रहेछ । तर त्यस्तो उत्सव आजकल बिरलै आउने रहेछ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बृद्धिका पछाडि ठूला तथा विकसित देशहरूकै मुख्य हात रहे तापनि ससाना देश त्यसमा पनि नेपालजस्ता हिमाली देशहरूमा ठूलो असर पर्ने देखिन्छ । लेखकले यस पुस्तकमा उठाएको प्रमुख विषय पनि यही हो ।
लेखक आफ्नोभन्दा आफ्नो छोरा र उनीहरूको पुस्ताप्रति चिन्तित छन् । उनी लेख्छन् ‘छोराले आधुनिक विज्ञानले सिर्जना गरेका अनगिन्ती सुख सुविधा त भोग्ला, भ्याक्सिन पाएर कोभिडजस्ता महामारीबाट सुरक्षा त पाउला । तर, हामीले बाल्यकालमा पाएझैँ स्वस्थ हावामा सास फेर्न नपाउने भयो । मूलको सफा र चिसो पानी पिउन नपाउने भयो । अनि, विषादीरहित र स्वस्थकर खाना खान नपाउने भयो (पृ.२४७) ।
पुस्तक पढ्दै गर्दा फेरि चुनावकै प्रसङ्गले तान्यो । विगतमाझैँ यसपालि पनि राजनीतिक पार्टीहरूको एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र आफ्ना राम्रा पक्षभन्दा अरूका नराम्रा पक्षको बढी प्रचारप्रसार गर्ने प्रवृत्ति रोकिएको छैन । पुराना दलहरूले नयाँहरूलाई ‘हाहा–हुहु’ र ‘देश जलाउने’ को संज्ञा दिएका छन् भने नयाँहरूले पुरानालाई ‘आजसम्म केही नगरेको’ आरोप लगाएका छन् । तर वास्तवमा यी दुबै भाष्यहरू पूर्ण सत्य छैनन् । ‘नुन–तेल’ पढ्दै गर्दा थाहा हुन्छ हामीभन्दा दुई पुस्ता अघि मात्र नेपालका पहाडी भेगमा भोकमरीको कस्तो विकराल अवस्था थियो । केही दशकयता नेपालले भोकमरीमाथि विजय हासिल गरेको छ । भौतिक पूर्वाधारहरूको ढिलै भएपनि विकास भइरहेको छ तर नयाँ र पुराना दुबै पुस्ताका राजनीतिकर्मीहरूले ‘विकास भनेकै डोजर लगाएर पहाड भत्काउनु हो’ भन्ने मानसिकता त्याग्नु जरुरी छ । यसपालिको चुनावी घोषणापत्र हेर्दा पनि राजनीतिक दलहरूमा (नयाँ भनिएकाहरूमा समेत) वातावरण संरक्षण र दिगो विकास सम्बन्धी चेत पसेको देखिँदैन ।
लेखक पेशाले चिकित्सक भए तापनि उनमा प्रकृतिप्रेम र दार्शनिक चेतना सशक्त देखिन्छ । उनी लेख्छन् ‘डोजरले बाटो खनिसकेर सुस्ताएको भए पनि सडकको भित्ताबाट बेलाबेलामा आफैँ ढुङ्गामाटो बुरुरु झरिरहेको थियो । यस्तो लाग्थ्यो– मार हानिसकेपछि ज्यान जानुअगाडि छट्पटाइरहेको पशुजस्तै यो पहाड पनि डोजरको मारपछि छट्पटाइरहेको थियो (पृ. २३३) । त्यस्तै अर्को प्रसङ्गमा उनी लेख्छन्– ‘भर्खरै पल्टाएर लडाइएका कलिला सल्लाका रुखहरू हेर्दा असमयमै युद्धमा मारिएका युवाका शरीरझैँ लाग्थे (पृ. २३३) । मौका पर्नासाथ बौद्ध दर्शनका विचारहरू पस्किहाल्ने लेखकीय स्वभावले गर्दा यात्रा वर्णन पट्यार लाग्दो नभई रोचक बन्न पुगेको छ । यात्राकै क्रममा उनले उल्लेख गरेको बौद्ध दर्शनको यो पङ्क्ति निकै मार्मिक छ– संसार दुःखले भरिएको छ । त्यसैले दुःखबाट मुक्ति पाउने पहिलो सर्त यहाँ जसो गरे पनि, जुन बाटो हिँडे पनि, जुन विकल्प अँगाले पनि दुःख छ भनेर स्वीकार्नु हो (पृ. ११२) ।
मेरो मान्यता छ, पुस्तकले पाठकलाई धेरै अर्ती उपदेश नदेओस् तर कुनै विषयमा गम्भीर भएर सोच्न बाध्य बनाओस्, अनि मात्र त्यो पुस्तक मूल्यवान् हुन्छ । ‘नुन–तेल’ पढ्दै गर्दा मनमा अनेकौँ सवाल–जवाफ उठ्छन् । प्रत्येक वर्ष पृथ्वीको औषत तापमान वृद्धि भइरहँदा निकट भविष्यमै हाम्रा हिमालहरू काला पत्थरमा परिणत भएपछि नेपालको पर्यटन उद्योग, जलविद्युत र कृषि व्यवसायको हालत के होला ? हाम्रा राजनीतिकर्मीहरूले रटान मारिरहेको विकास साँच्चिकै दिगो हुन्छ त ? अनि नेपालजस्तो सानो देशले पृथ्वीको विनासलाई रोक्न सक्ला र ? तर केही गर्न नसके पनि हामीले नवीकरणीय ऊर्जाको व्यापक प्रयोगद्वारा पेट्रोलियम पदार्थको खपत घटाउन सक्छौँ । नाङ्गा डाँडाहरूमा वृक्षरोपण गरी हराभरा बनाउन सक्छौँ, खेतबारीमा रासायनिक मलको मात्रा घटाएर जल, जमिन र हामीले स्वास फेर्ने हावालाई स्वच्छ राख्न सक्छौँ, ‘डोजरे विकास’लाई नियन्त्रण गर्दै दिगो विकासको मार्ग कोर्न सक्छौँ ।
अन्त्यमा लेखकले उठाएका जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दाहरूलाई हाम्रा सामाजिक अभियन्ता र राजनीतिकर्मीहरूले पनि मनन गर्दै आफ्नोभन्दा भविष्यका सन्ततिहरूका लागि काम गरून् । केही दशकभित्रै हाम्रा सेता हिमालहरू काला पत्थरमा परिणत नहोऊन् र तपाईँलाई पनि एकपटक डा. जीवन क्षेत्रीको ‘नुन–तेल’ पढ्ने अवसर मिलोस्, शुभकामना !
स्राेत : https://sahityapost.com/top-news/186791/




