Sunday, September 30, 2018

दशैं

#दसैं
यसपालि दसैं मनाउने ठूलो धाेकाे थियो
तर पाइन ।
भाग्य लेख्दा लेख्दै भावी निदाएको
याे निधारमा
टीका र जमराले सजाउने,
चुहिने छानाे छाउने,
ठूलो धाेकाे थियो
तर बिडम्बना
बाढी अायाे
बगायाे ।
झुप्राे मात्र बगाएन
मेरा लालाबालाकाे
भविष्य पनि बगायाे
त्यसैले
यसपालि पनि दसैं अायाे तर मनाउन पाइन ।
काेसीमा बाढी अाउँदा
लाखौं नेपाली सरकारकाे मुख हेरेर बसे
तर सरकार
काेसीकाे 'स' माेटाे लेख्ने कि पातलाे?
गरिबकाे 'रि' ह्रस्व लेख्ने कि दीर्घ ?
भन्दै झगडा गरिरह्याे ।
त्यसैले
यसपालि पनि दसैं अायाे
तर मनाउन पाइन ।
पाेहाेर साल पुन्टेलाई सम्झाएको थिए-
"बाबु ! अहिले नराे,
अर्को वर्ष संविधान बन्छ,
निमुखाकाे दिन अाउँछ,
चामल सस्तोमा पाइन्छ,
सेल पकाउँला...यस्तै यस्तै
तर यसपालि के भनेर सम्झाऊँ मेरो पुन्टेलाई?
कसरी पकाऊँ सेल राेटी?
त्यसैले
यसपालि पनि दसैं अायाे
तर मनाउन पाइन ।
ए दसैं !
तँ वर्षेनि मलाई सताउन किन अाउँछस्?
न मेरो दुखेको घाउमा मल्हम लगाउँछस्,
न मेरो चुहिने छानाे छाउन मद्दत गर्छस्,
वर्षेनि यसरी मलाई सताउन
नअा न गाँठे !
-मुक्ति भण्डारी, स्याङ्जा

Friday, September 7, 2018

पुस्तक, मान्छे र प्रेम



पुस्तक, मान्छे र प्रेम
(एक अंश)
...कुनै कुनै पुस्तकहरू यस्ता हुन्छन्, जुन वर्षौं पहिलेदेखि आफूसँग भएर पनि बेवास्तामा परेका । कतै दराजको कुनामा फ्याँकिएका । तर यस्तो पनि दिन आउँछ त्यै वेवास्तामा परेको पुस्तकलाई काखी च्याँपेर कतै एकान्तमा पसिन्छ र घण्टौं रमाइन्छ । कतै आँसु झार्दै त कतै पेट मिचिमिचि हाँस्दै । अनि पढिसकेपछि भित्री दिलमा अमिलो हुन्छ, एउटा गहिरो पछुतो हुन्छ त्यसलाई ढिलो गरी पढेकोमा र एउटा झिनो आनन्द पनि हुन्छ कम्तीमा पढ्न त पढेँ ढिलै भए पनि । कुनै कुनै पुस्तक त झन् सिरानीमै राख्न मन लाग्छ । एकाविहानै उठ्यो, चियासँगै दुईचार हरफ पढ्यो, मुसुक्क हाँस्यो । तिमी पनि एउटा त्यस्तै गम्भीर पुस्तक रै’छौ भुन्टी ! जसलाई ढिलो गरी पढेकोमा आत्मग्लानी र ढिलै भए पनि पढेकोमा सन्तुष्टि मिलेको छ । माफ गर, सायद मैले गलत बिम्बको प्रयोग गरेँ कि ! भर्खरै मैले एकजना गुरुको भनाइ सम्झेँ—‘पुस्तक मृत मान्छे हो भने मान्छे जीवित पुस्तक ।’ तिमी पनि त एउटा जीवित पुस्तक हौ । तर यस्तो पुस्तक जसमा नयाँ नयाँ अध्यायहरू थप्ने प्रसस्त सम्भावनाहरू बाँकी छन् । आऊ, सँगै मिलेर एउटा सुन्दर कृति सृजना गरौं ।
©मुक्ति भण्डारी

Thursday, September 6, 2018

विराेधाभाष




कविता

“विराेधाभाष”



मुक्ति भण्डारी
एकाविहानै उठेर दाैडिन्छु
दाैडधुपलाई जिन्दगी भनेर ।
सडकमा एउटा ठिटो
विज्ञापनलाई समाचार भनेर बेचिरहेछ,
हेडलाईन हेर्छु
स्पष्ट देखिन्छ
पत्रिकाले गधालाई “नेता” भनेर छापेछ ।
एउटा चिया पसलमा पस्छु
पसल्निले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई
म पनि दङ्गै परेर पिइदिएँ
अाहा! कालो चियाभन्दा त ब्ल्याक टि मीठो ।
घर फर्केपछि श्रीमती हाजिर भइन
दिनभरिकाे प्रगति विवरण लिएर
छाेरालाई कारागार पठाइछन् “हाेस्टेल” भनेर
उता छाेराले सिकेछ-
स्याउलाई “एप्पल” भन्न
बिरालोलाई “क्याट”
दाइलाई “ब्राे”
भैंसीलाई “बफ”
अामालाई “मम्”
र बुवालाई “ड्याड” भन्न ।
र सिकेछ थुप्रै “नेपाङ्ग्रेजी” बाेल्न ।
म विश्वस्त छु एकदिन छाेराले मलाई “सुड्ढाे” र
उनलाई “सुड्ढी” भन्न पनि सिक्ने छ ।
टिभी खाेल्छु
तीज अाइसकेछ
एक हूल कलाकारले बजार तताएछन्
रत्याैलीलाई “तिज गीत” भनेर
नाङ्गो नाचलाई “कल्चर डान्स” भनेर
झट्ट सम्झेँ
उफ् !
अब श्रीमतीले सताउने सिजन अाएछ
जाँडलाई “दर” भनेर
चप्पललाई “सेन्डिल” भनेर
यस्तै यस्तै अनेक भनेर
जे नभन्नु थियो त्यै भनेर ।
यै सिजनमा कति प्रियाहरु व्रत बस्छन्
जँड्याहालाई “पतिदेव” भनेर
ऊ उतै लठ्ठिन्छ
भट्टिवालीलाई “डार्लिङ” भनेर
श्रीमतीलाई “खेलाैना” भनेर ।
यस्तै दिग्भ्रममा अाँसु झारिरहन्छन्
कैयन अामाहरु
विदेशीकाे भरियालाई “छाेराे” भनेर
मालिकहरुले
भरियाकाे देशमा दु:ख पर्दा
कुहिएको चामल पठाउँछन् “राहात” भनेर
अनि
हामी त्यसैलाई स्वाद मानी मानी खान्छाैं
“ब्राउन राइस” भनेर
गनाएकाे ठेकालाई बसायाे भनेझैं
दुर्गन्धलाई बास्ना भनेर ।
अाफू राजा बन्न
हजारौं मान्छेकाे नाक कान काट्ने
पृथ्वीनारायणलाई हामी पूजा गर्छौं
“राष्ट्रनिर्माता” भनेर ।
बुद्धकाे देशमा युद्ध गरियो
मान्छे मार्नुलाई “क्रान्ति” भनेर ।
कैलेकाहीँ अाफैसँग
प्रश्न गर्न मन लाग्छ
कतै म अर्को दिग्भ्रममा त छैन
नेपाललाई “स्वतन्त्र देश” भनेर
र अाफूलाई
याे देशकाे नागरिक भनेर?
चुड्किलालाई गजल/मुक्तक
अात्मगन्थनलाई उपन्यास
भनिने याे समयमा
म पनि तपाईंलाई
एउटा निबन्ध सुनाएँ “कविता” भनेर ।
धन्यवाद !
-मुक्ति भण्डारी

‘नुन-तेल’मा जलवायु परिवर्तन र दिगो विकासका गहन मुद्दा

  देश चुनावी माहोलले तात्तिएको छ तर जुम्लामा चिसो घटेको छैन । सामाजिक सञ्जाल हेरिनसक्नु छ । सबैले आ – आफ्नै डम्फु बजाइरहेका छन् । केही समयका...